युद्ध क्षेत्रको सन्देशवाहकका रूपमा सेर अमीसरहका केही पखेटाधारी लडाकुले आफ्नो साहसिक कार्यका लागि विशिष्ट सैन्य सम्मान प्राप्त गरेका छन् । प्रथम विश्वयुद्ध अवधिमा युद्धक विमानहरूसँगै वायु सैनिक दस्ता मात्रै थिएनन् ।
युद्धको मैदानमा सैनिक, नाविक र पाइलटहरूका साथमा पाँच लाख जति तालिम प्राप्त परेवा पनि थिए । ती परेवाले युद्ध अवधिमा सैन्य गुप्तचरी र सङ्कटको सन्देश प्रेषण गरेर हजारौँ मानिसको जीवन बचाएका थिए । केही पन्छीले गम्भीर घाइते हुँदा पनि आफ्नो जिम्मेवारी निर्वाह गरेर महान् योद्धाको सम्मान पाए ।
उदाहरणका लागि सेर अमी परेवालाई फ्रान्सेली सेनाको सर्वोच्च सम्मान प्रदान गरिएको थियो । ‘प्रेसिडेन्ट विल्सन’ नामको परेवालाई पेन्टागनमा प्रतिस्थापित गरिएको छ ।
प्रथम विश्वयुद्धमा लडाइँको मैदानमा रेडियो र टेलिफोनको प्रयोगले प्रवेश पायो तर खाल्डाखुल्डीमा लुकेर लड्नु पर्दा ती नवीन प्रविधि उपयोगी हुन सकेनन् । लडाइँका लागि खनिएका खाल्टासम्म लगिएका तार तोपखानाको बम वर्षा र तोडफोडले गर्दा सजिलै चुँडालिए तथा तार बोकेर जानेहरू निसानाबाज सैनिकहरूको सहज लक्ष्य बने ।
जब आधुनिक सञ्चार माध्यमहरू काम नलाग्ने भए सेनाले बम वर्षा, धुवाँ र खराब मौसमका बारेमा जान्नका लागि समयकालले प्रमाणित घरपालुवा परेवाको सहारा लिए । एक दिनमा आठ सय किलोमिटरभन्दा बढी उड्दा प्रतिघण्टा करिब सय किलोमिटर उड्न सक्ने क्षमता भएका परेवालाई तिनको गति, सहनशक्ति र उडान मार्गको असाधारण ज्ञानका कारणले प्राचीन कालदेखि युद्ध क्षेत्रको सन्देशवाहकका रूपमा महìव दिइयो ।
नेसनल वल्र्ड वार फस्र्ट म्युजियम एन्ड मेमोरियलका उपाध्यक्ष डा. क्रिस्टोफर वारेनका अनुसार सेनाले परेवाबाट सन्देश पठाउँदाको सफलता दर ९५ प्रतिशत थियो । उनी भन्छन्, “सञ्चारको एक निकै भरपर्दो माध्यम थियो परेवा । सञ्चारका नवीन स्वरूप विफल हुँदा परेवाले दुई हजार वर्षदेखि गर्दै आएको कार्य गरेका थिए ।”
‘वार पिजन्स : विङ्ग्ड कुरियर्स इन द युएस मिलेट्री, १८८७–१९५७’ पुस्तकका लेखक एलिजावेथ जी म्याकलस्टरको भनाइमा वैज्ञानिकको आमविश्वास के छ भने यी चरामा आफ्नो घरसम्म फिर्ता आउने अद्भुत क्षमता दृष्टिमा मात्र भर पर्दैन । यिनीहरूको चुच्चोमा यस्तो चुम्बकीय गुण रहेको हुन्छ, जसले एक कम्पासको भाँती कार्य गर्छ तथा धेरै टाढासम्म पुग्ने कम आवृत्तिको ध्वनि पत्ता लगाउन सक्ने असाधारण क्षमताको प्रयोग गरी परेवा घर फर्किन्छन् । यति थाहा हुँदा पनि बिरानो ठाउँबाट घर फर्कन घरपालुवा परेवामा भएको वास्तविक प्रक्रिया अझै पनि रहस्यमै छ ।
प्रथम विश्वयुद्धका पखेटाधारी योद्धा
सन् १९१४ मा जब प्रथम विश्वयुद्ध सुरु भयो युद्धका दुवै पक्षले पखेटाधारी शस्त्रागार विकास गर्नमा जोरजुलुम गरे । सन् १९१४ अक्टोबरमा बेलायती सेनाले लेफ्टिनेन्ट कर्नेल अल्फ्रेड हेनरी ओस्मनलाई सेनामा परेवा सेवा विभाग गठन गर्न जिम्मेवारी दिइयो । ओस्मन ‘रेसिङ पिजन’ पत्रिकाका संस्थापक पनि हुन् । आफ्नो व्यापक जनसम्पर्क उपयोग गर्दै ओस्मनले परेवा प्रजनन कार्यमा संलग्नसँग सम्पर्क गरी सेनाको सेवामा सहभागी हुन परेवा प्रदान गर्न अनुरोध गरे । यसरी उनले युद्धका लागि बेलायतको सेनामा एक लाख परेवा भर्ती गरेका थिए ।
लडाइँका लागि युद्धको मैदानमा खनिएका खाडलबाट सन्देश द्रुत गतिमा आदानप्रदान गर्न फ्रान्सेलीले घरको आकार दिइएका घुमन्ते घोडागाडी र दुई तले बसलाई नै परेवाको वासस्थानमा सफलतापूर्वक परिणत गरे । परेवाले त्यहीँ बच्चा हुर्काउने गर्थे । अन्डा कोरलेको पाँच हप्तापछि परेवाका चल्लालाई घोडागाडी वा बसमा राखेर हुर्काइन्थ्यो । त्यहाँ चल्ला दैनिक मानिसको सम्पर्कमा रहन्थे र मानिसको हेलमेलमा परेवा हुर्किन्थे । परेवा हुर्काउनेले सुरुमा तिनलाई वासस्थानबाट केही सय फिट माथि उडाउने र क्रमगत उड्ने दुरी बढाउँदै लैजान्थे ।
विशिष्ट तालिमका क्रममा वासस्थान बनाइएको घोडागाडी वा बसलाई विभिन्न स्थानमा लगेर राखिन्थ्यो । दस हप्तापछि परेवा आफ्नो वासस्थानबाट युद्धको मोर्चाबाट केही पर रहेका खाडल (ट्रेन्च) सम्म उडान भर्नलायक भइसक्थे ।
युद्धको मोर्चामा तयार पारिएका ट्रेन्चमा राइफल र परेवाको डालो पिठ्युँमा भिरेर अगाडि बढ्दै गर्दा सैनिकले त्यहाँको वस्तुस्थितिका बारेमा ‘टिस्यु पेपर’ मा लेखेपछि त्यसलाई बेरेर परेवाको खुट्टामा बाँधिएका अल्मुनियमका साना ‘सिलिन्डर’ मा हालिदिन्थे । प्रापककहाँ सन्देश प्रेषणको सम्भावना बढाउन कम्तीमा दुई परेवाले समान सन्देश बोक्दथे । आफ्नो वासस्थानमा फर्केका परेवा ती प्वालबाट भित्र पस्दथे जहाँ एक घण्टी लगाइएको हुन्थ्यो र परेवापालकलाई सूचित गर्ने गरी त्यो घण्टी बज्थ्यो ।
परेवाले हरेक सैन्य शाखामा सेवा दिने गर्थे । लुकाइएका मेसिन गनको अवस्थिति थाहा पाउन ‘ट्याङ्क’ का सैनिकले परेवा उडाउने गर्थे । सैन्य गतिविधिको जानकारी जतिसक्दो चाँडो सम्प्रेषण गर्न पाइलटहरूले आकाशबाटै परेवा उडाए । पानीजहाज र समुद्री विमानसमेत रेडियो विफल भएको वा आपत् आइपरेको अवस्थामा सङ्कटको सन्देश पठाउन साथमा परेवा राखेर यात्रा गर्दथे । बेलायतमा मात्रै सात सयभन्दा बढी परेवाले समुद्रमा डुबिरहेका जहाज र खसेका विमानको सूचना दिँदा त्यसमा सवारहरूलाई बचाउन सहयोग पुगेको थियो ।
घरपालुवा परेवा मित्र राष्ट्रहरूका लागि महत्वपूर्ण हतियार बन्न थालेपछि जर्मनहरूले आकाशमै तिनलाई सिध्याउन निसानेबाजहरूका साथै प्राकृतिक शत्रु चिल परिचालन ग¥यो । प्रतिउत्तरमा फ्रान्सेली सेनाले परेवालाई ती शत्रुबाट जोगाउन कालो रङ लगाएर कागको जस्तो बनाए ।
अमेरिकाको आफ्नै परेवा शस्त्रास्त्र
जतिबेला सन् २०१७ मा अमेरिकी सेना प्रथम विश्वयुद्धमा होमियो त्यतिबेला स्पेनी–अमेरिकी युद्ध अवधिमा तथा सन् १९१६ मा मेक्सिकोको पन्चो भिलामा कब्जा गर्ने अभियानमा मिलेको असफल प्रयोगका अतिरिक्त घरपालुवा परेवालाई सैन्य हितका लागि उपयोग गर्ने अनुभव उससँग थिएन ।वारेनले भनेका छन्, “बेलायत र फ्रान्सले यी परेवा कत्तिको उपयोगी हुन सक्छन् भन्ने देखाएपछि अमेरिकीहरूले एउटा विशेष तालिम कार्यक्रम नै सुरु गरे ।”
घरपालुवा परेवाले अमेरिकी जलसेनाका लागि युद्ध कालमा लगभग ११ हजार पटक उडान गरे । अमेरिकी सेनामा जलसेनाले सर्वप्रथम परेवालाई सन्देशवाहकका रूपमा प्रयोग गरेको थियो । अमेरिकामा स्थापित ‘युएस आर्मी पिजन सर्भिस’ ले सन् १९१८ मार्चमा युद्ध क्षेत्र फ्रान्समा आफ्नो सेवा सुरु ग¥यो । जसमा तीन सय ३० परेवापालकलाई परेवाको रेखदेख र तालिमको जिम्मेवारी दिइएको थियो । परेवाका बारेमा जानकार नभएका अमेरिकी सैनिक (डगब्वाइज) लाई परेवालाई समाल्ने र सन्देश प्रेषण गर्ने विधिका बारेमा पाँचदिने तालिम दिइयो । अमेरिकी शोखिनहरूबाट १० हजार परेवा खरिद गर्नुका अतिरिक्त ‘पिजन सर्भिस’ ले बेलायतले उपलब्ध गराएका छ सय परेवा पनि आफ्नो सेवामा समावेश ग¥यो । जसमा युद्धकालको एक प्रख्यात पन्छी पनि थियो ।
सेर अमीका किस्सा
सेर अमी नाम दिइएको परेवाले वर्दनको युद्धमा फ्रान्सेली सैन्य शक्तिका लागि सन्देश आदानप्रदान गरेर वीरता प्रदर्शन गरिसकेको थियो तर यसको सर्वाधिक प्रख्यात अभियान सन् १९१८ मा भयो, जतिबेला म्युज अर्गोन हमलामा अमेरिकाको ७७ औँ ‘इन्फेन्ट्री डिभिजन’ ले उसलाई साथमा लिएर गयो । उत्तरी फ्रान्समा निकै चुस्त जर्मनीको सैन्य दस्तामाथि आव्रmमण गर्दा अगाडि बढ्दै पाँच सय ५४ सैनिक धेरै टाढा पुगे र एउटा कन्दरामा फसे । त्यहाँ उनीहरूले शत्रुको गोलीबारीका साथै अन्य अमेरिकी सैनिकहरूको गोलीको पनि सामना गर्नु परेको थियो । यसरी उनीहरू दोहोरो गोलाबारीका बीचमा फसेका थिए ।
युद्धको किस्सा के छ भने जब सञ्चारका अन्य सबै माध्यम विच्छेद भए, कन्दरामा फसेका हतास अमेरिकी सैनिकहरूले संहार हुने भयका बीच बचेको एक मात्र परेवामा आफ्नो जीवनको आशा देखे । अमेरिकी सेनाका मेजर चाल्र्स ह्विटलेसीले व्यग्रतापूर्वक एक सन्देश लेखेर सेर अमीको खुट्टामा बाँधिएको एउटा सानो सिलिन्डरमा राखिदिए । फसेका सैनिकले सेर अमीलाई आकाशमा उडान भर्न लागेको मात्र के देखे जर्मनीका एक सैनिकले हानेको गोली परेवालाई लाग्यो । अविश्वसनीय तरिकाले घाइते भएर पनि सेर अमी फेरि उड्यो र ४० किलोमिटर पर रहेको अमेरिकी सैन्य अखडामा पुग्यो ।
त्यहाँ आइपुग्दा सेर अमी एउटा आँखा नदेख्ने भएको थियो । उसको छातीमा गहिरो चोट थियो र दायाँ खुट्टामा बायाँतिर एउटा सिलिन्डर झुन्डिएको देखिन्थ्यो । त्यस सिलिन्डरभित्र सन्देश थियो, “हामी २७६.४ को समानान्तर सडक छेउमा छौँ । हाम्रो आफ्नै तोपखानाले सोझै हामीमाथि नै गोली बर्साउँदैछ । भगवान्को दयाले यसलाई रोक्नुहोस् ।” यसै सन्देशका आधारमा अन्ततः फसेका सैनिकहरूको उद्धार गरियो र एक सय ९४ सैनिकको जीवन जोगियो ।
उपचारका क्रममा सेर अमीको एउटा खुट्टा नै काट्नु प¥यो र यो परेवा अमेरिकी युद्ध नायक भयो । वारेन भन्छन्, “प्रथम विश्वयुद्धमा प्रयोग गरिएका पशुपन्छीको वीरताको प्रतीक थियो सेर अमी । यस्तो व्यापक स्तरमा पशुपन्छीले भूमिका निर्वाह गरेको यो अन्तिम युद्ध थियो ।”
फ्रान्स सरकारले पखेटाधारी लडाकु सेर अमीलाई आफ्नो सर्वोच्च सैन्य सम्मान ‘क्रोक्स डी गुएरे’ ले विभूषित ग¥यो । शत्रुका बीच कन्दरामा फसेर पनि बाँचेका अमेरिकी सैनिकले सेर अमीप्रति आभार प्रकट गर्न काठको एउटा सानो खुट्टा नै बनाए ।
अमेरिकी अभियान बलका कमान्डर जोन जे. पर्सिङले भनेका छन्, “यस पन्छीका लागि अमेरिकी सरकारले गर्नुपर्ने केही काम बाँकी छैन । पर्सिङको आदेशमा सेर अमीलाई युद्धपछि अमेरिका लगियो । त्यहाँ वासिङ्टन डिसीको परेवा वासस्थानमा सेर अमीले अवकाश जीवन व्यतीत गरेको थियो । युद्धमा लागेको चोटकै कारण सन् १९१९ मा सेर अमीको मृत्यु भयो तर प्रथम विश्वयुद्धमा परेवाको योगदानको संस्मरणमा सेर अमीको अवशेषलाई सुरक्षित पारेर स्मिथसोनियनमा प्रदर्शनीमा राखिएको थियो ।
– उमेश ओझाद्वारा हिस्ट्रीबाट अनुवादित र सम्पादित ।